चितवन, भदौ १५ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सीखोला पुलनजिक त्रिशूली नदीले सडक छेउको भाग कटान गरेपछि सडक डिभिजन भरतपुरले सुरक्षा सतर्कता अपनाएको छ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सीखोला पुलबाट करिब १ किलोमिटर नारायणगढतर्फ (Ch 31+050) त्रिशूली नदीले सडक छेउबाट खोलातर्फ करिब ४.५ मिटर बाहिर र करिब ३० मिटर लम्बाइमा कटान गरेको हो।
कटान भएको स्थानको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि सवारी चालक तथा यात्रुलाई सम्भावित जोखिमबारे सचेत गराउन उक्त स्थानमा कोन तथा रिफ्लेक्टिभ स्टिकर राखिएको सडक डिभिजनले जनाएको छ।
सडक डिभिजनका अनुसार तत्काल उक्त स्थानमा यात्रा गर्दा ठूलो जोखिम नरहे पनि सडकको छेउमा कटान भएको कारण सवारी चालक तथा यात्रुले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
डिभिजनले सडकमा राखिएका सुरक्षा संकेत तथा सतर्कतासम्बन्धी सामग्रीलाई ध्यान दिएर गति नियन्त्रण गरी यात्रा गर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
त्रिशूली नदीको बहाव र सडकको अवस्थालाई निरन्तर निगरानीमा राखिएको तथा आवश्यकताअनुसार थप सुरक्षा तथा व्यवस्थापनका काम अघि बढाइने जनाइएको छ।













