बतासे डाँडा, भदौ १८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित बतासे डाँडामा खाद्यान्न बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता भएका छन्।
बिहीबार बिहान करिब ६ बजे हेटौँडाबाट दक्षिणकाली हुँदै काठमाडौँतर्फ जाँदै गरेको प्र.०३–०१–००३ क ५६०५ नम्बरको खाद्यान्न लोड मिनी ट्रक हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी खानीखेत र इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा मिनी ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ का करिब २६ वर्षीय पुष्पराज भुजेल घाइते भएका छन्। उनको निधार, दाहिने हात तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यस्तै, मिनी ट्रकमा चालकसँगै रहेका बेनिघाट रोराङ गाउँपालिका–२ का २१ वर्षीय सहचालक रमेश बि.क. भने घटनास्थलमा फेला नपरेका प्रहरीले जनाएको छ। उनको खोजी तथा उद्धारका लागि प्रहरी टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
दुर्घटनाको थप विवरण तथा दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।














