हेटौंडा, भदौ २५ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गत भैरवरोड–चिसापानी क्षेत्रमा लामो समयदेखि देखिएको अवरुद्ध ढलको समस्या समाधानका लागि मर्मत कार्य अघि बढाइएको छ। ढल निकास खुल्न थालेपछि स्थानीयस्तरमा प्रारम्भिक सफलता प्राप्त भएको वडाध्यक्ष नवीन सिग्देलले बताएका छन्।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज ढल निकास खुला भएको जानकारी दिँदै यसलाई समस्याको समाधानतर्फको प्रारम्भिक सफलताका रूपमा लिएको उल्लेख गरेका छन्।
उनले समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको भन्दै स्थानीयवासीमा विश्वास बढेको बताएका छन्। यद्यपि ढल पूर्णरूपमा नसुकेको अवस्थामा मर्मत तथा थप काम अघि बढाउन केही कठिनाइ भइरहेको उनको भनाइ छ।

‘आज ढल निकास खुल्ला भएको छ, यसलाई प्रारम्भिक सफलता मान्दै खुसी भइयो,’ सिग्देलले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्। उनले अझै पनि ढल पूर्णरूपमा नसुक्दा काम गर्न कठिनाइ भइरहेको बताउँदै समस्या पूर्णरूपमा समाधान हुने विश्वास व्यक्त गरेका छन्।
भैरवरोड–चिसापानी क्षेत्रमा देखिएको ढलको समस्याले स्थानीय बासिन्दालाई असहज बनाउँदै आएको अवस्थामा निकास खुल्न थालेपछि केही राहत मिलेको छ। अब बाँकी मर्मत कार्यलाई प्रभावकारी रूपमा अघि बढाएर समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रयास भइरहेको जनाइएको छ।














