अपाङ्गता भएका युवाका लागि काठमाडौँमा तीनदिने नमुना युवा संसद सुरु

काठमाडौँ, असोज २३ गते । नेत्रहीन युवा संघ नेपाल (BYAN) को आयोजना र राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा ‘फर युथ लिडरसिप’ परियोजनाअन्तर्गत तीनदिने ‘नमुना युवा संसद’ कार्यक्रम काठमाडौँमा सुरु भएको छ।

दृष्टिविहीन, बहिरा तथा शारीरिक अपाङ्गता भएका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा काठमाडौँ, चितवन र झापा गरी तीन जिल्लाका ३३ जना अपाङ्गता भएका युवाहरूको सहभागिता रहेको छ। अपाङ्गता भएका युवाहरूलाई देशको संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया, विधेयक र संसदीय शब्दावलीबारे व्यावहारिक ज्ञान दिँदै उनीहरूमा नेतृत्व विकास, आत्मबल वृद्धि तथा नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता बढाउने उद्देश्यले यो अभ्यास सुरु गरिएको हो।

नेत्रहीन युवा संघ नेपालका केन्द्रीय महासचिव अर्जुन रावलको अध्यक्षता तथा संस्थाकी कार्यक्रम अधिकृत मनिषा हाडा श्रेष्ठको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष रावलले २०६८ सालमा दर्ता भएको यस संस्थाले सुरुमा दृष्टिविहीनका क्षेत्रमा मात्र काम गरे पनि हाल सबै प्रकारका अपाङ्गता भएका युवा, बालबालिका र किशोरकिशोरीका लागि देशव्यापी रूपमा कार्य गरिरहेको जानकारी दिए। उनले संस्थाले मुख्य गरी समावेशी शिक्षा, रोजगारी, यौन तथा प्रजनन स्वास्थ्य, जलवायु न्याय, राजनीतिक तथा नागरिक सहभागिता, पहुँचयुक्तता र नीतिगत वकालतका क्षेत्रमा क्रियाशील रहेर काम गर्दै आएको बताए।

संस्थाको मूल मेरुदण्ड सहकार्य, समन्वय र सहअस्तित्व रहेको उल्लेख गर्दै महासचिव रावलले तीनदिने नमुना युवा संसदले सहभागीहरूलाई संसदीय प्रणाली र निर्णय प्रक्रियाबारे स्पष्ट व्यावहारिक ज्ञान दिने विश्वास व्यक्त गरे। उनले सहभागी युवाहरूलाई छलफल, अनुसन्धान र अन्तरक्रियामा पूर्ण रूपमा अभ्यस्त भई सिक्ने अवसरको अधिकतम उपयोग गर्न आग्रहसमेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.