बाद्रेभीर, कार्तिक १ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाद्रेभीरमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज दिउँसो करिब १२:३० बजे हेटौँडा–भैंसे सडकखण्डअन्तर्गत बाद्रेभीरमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी दुर्घटनामा परेको हो।
गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेर दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा रौतहट दुर्गाभगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलम, रौतहटकै दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उनकी छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा उनका नातिनातिना घाइते भएका छन्।
त्यस्तै, रौतहट चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनामाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर पनि घाइते भएका छन्।
प्रहरीको विवरणअनुसार घाइतेमध्ये हरि साहको मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको छ। उनीसँगै उनकी छोरीहरू चन्दा कुमारी र शिवा कुमारी तथा नाति आर्यन साहसहित परिवारका अन्य सदस्य पनि थप उपचारका लागि चितवन गएका छन्।
अन्य घाइतेमध्ये केहीको खुट्टा, नाक, काँध, मुख, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो।

दुर्घटनामा परेको ईभी घटनास्थलमै रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। ईभीका साहु शिवकान्त झासँग भने सम्पर्क भएको प्रहरीले उल्लेख गरेको छ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको पनि प्रहरीले जनाएको छ।














