काठमाडौँ, असोज २९ गते । ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी दिवसको अवसरमा एक्सेस प्लानेटद्वारा आयोजित “सेतो छडी र नेपालका दृष्टिविहीन व्यक्तिहरूको सडक सुरक्षाका सवालहरू” विषयक खुला टिकटक प्रतियोगिता सम्पन्न भएको छ।
दृष्टिविहीन व्यक्तिहरूको सुरक्षित आवतजावत, सेतो छडीको महत्त्व तथा पहुँचयुक्त समाज निर्माणमा नागरिकको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी हुनका लागि असोज ९ गतेदेखि २५ गतेसम्मको समयावधि तोकिएको थियो, जसअन्तर्गत सहभागीहरूले आफ्नो टिकटक एकाउन्टबाट भिडियो पोस्ट गरेका थिए।
प्रतियोगितामा सहभागीहरूले सेतो छडीको सही प्रयोग, सार्वजनिक स्थानका अवरोध, सडक पार गर्दा ध्यान दिनुपर्ने विषय तथा गलत तरिकाले सहयोग गर्दा हुने समस्याहरूलाई ३ मिनेटभन्दा छोटा भिडियोमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। प्राप्त भिडियोहरूको विषयवस्तुको गम्भीरता, सिर्जनशीलता र टिकटकबाट प्राप्त (लाइक, कमेन्ट तथा सेयर) का आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो।
टिकटक प्रतियोगिताको नतिजाबाट उत्कृष्ट प्रस्तुति दिँदै अनिश चौधरी प्रथम हुन सफल भई रु. १०,००० नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी सुदीक्षा राना दोस्रो भई रु. ८,००० र शिवानी शर्मा तेस्रो भई रु. ५,००० नगद पुरस्कार जित्न सफल भएका छन्।
दृष्टिविहीन व्यक्तिहरूका दैनिक चुनौती र सडक सुरक्षाका संवेदनशील विषयलाई टिकटकजस्तो लोकप्रिय माध्यमबाट आम नागरिकसमक्ष पुर्याउन यो प्रतियोगिता निकै प्रभावकारी बनेको कुरा आयोजकले व्यक्त गरेको छ।














