हेटौँडा, असोज २५ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ दुविचौरस्थित कान्तिलोकपथ सडकखण्डमा बसको डिक्कीको ढोकाले लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार अपराह्न करिब ४ बजे बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६४ नम्बरको बसको साइडमा रहेको डिक्कीको ढोकाले ठक्कर दिँदा स्थानीय ४१ वर्षीय वीरबहादुर स्याङ्तान घाइते भएका थिए ।
प्रहरीका अनुसार बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी ३१ वर्षीय विशाल केसीले चलाएको उक्त बसको डिक्कीको ढोकाले पैदलयात्री स्याङ्तानलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउको, छाती र खुट्टामा चोट लागेको थियो ।
घाइते स्याङ्तानलाई बसका सहचालकले उपचारका लागि हेटौँडा अस्पताल ल्याएका थिए । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साँझ करिब ६:३० बजे मकवानपुर सहकारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले साँझ ७:५० बजे उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय ठिङ्गन र अस्थायी प्रहरी पोस्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण सडक अवरुद्ध नभएको पनि प्रहरीले जानकारी दिएको छ ।














