गोरखाको चुमनुव्रीमा पहिरोपछि बुढीगण्डकीमा भीषण बाढी, ५ जना बेपत्ता; उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालन

गोरखा, असोज २५ गते । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा आइतबार बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरू बगाएको छ। घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका साथै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत निर्देशन दिएको थियो।

त्यसैगरी, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र तथा बाढी पूर्वानुमान महाशाखामार्फत गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना सम्प्रेषण गरिएको जनाइएको छ।

४३७ सुरक्षाकर्मी र चार हेलिकोप्टर परिचालन

बाढीबाट प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल, नेपालका १७७ जना गरी कुल ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

पहिरो र बाढीको वास्तविक कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन सदस्यीय टोली ड्रोन लिएर घटनास्थलतर्फ परिचालन गरिएको छ। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।

राहत, स्वास्थ्य सेवा र पूर्वाधार पुनःस्थापनाको तयारी

विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर सञ्चालन भइरहेको छ। बैठकमार्फत बाढीको अवस्थाको अनुगमन, जोखिम विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा सम्बन्धित निकायबीच समन्वय र प्रतिकार्यका लागि निर्देशन दिने काम भइरहेको जनाइएको छ।

प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा बेलिब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि परिचालन गरिएको छ। आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत सुरु गरिएको छ।

त्यसैगरी, गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ। प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहितको स्वास्थ्य टोलीलाई आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको उद्धारका लागि सम्बन्धित मन्त्रालय तथा कम्पनीहरूलाई आवश्यक निर्देशन दिइएको छ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन आवश्यक कदम अघि बढाएको जनाएको छ। बाढीसम्बन्धी सूचना प्राधिकरणसहित सरोकारवाला निकायका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट निरन्तर सम्प्रेषण भइरहेको छ।

बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण र बेपत्ता व्यक्तिहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.