लोकाहा खोला पुलको पुरानो भागमा मात्रै आवागमन बन्द, नयाँ पुलबाट सवारी सञ्चालन नियमित

नवलपुर, असोज २४ गते । नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत प्रगतिनगर र कावासोतीको बीचमा रहेको लोकाहा खोला पुलको पुरानो संरचनामा प्राविधिक समस्या देखिएपछि उक्त पुलबाट सवारी आवागमन बन्द गरिएको छ। तर, सोही स्थानमा निर्माण सम्पन्न भएको नयाँ पुलबाट भने सवारीसाधनको आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ।

नारायणघाट–बुटवल सडक योजना तथा सडक डिभिजन कार्यालय भरतपुर, चितवनले  सूचनामार्फत लोकाहा खोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध नभएको स्पष्ट पारेको हो।

सूचनाअनुसार पुरानो पुलमा केही प्राविधिक समस्या देखिएकाले सुरक्षाका दृष्टिले हाललाई उक्त पुलबाट सवारी आवागमन निषेध गरिएको छ। यद्यपि, नयाँ पुलमा कुनै समस्या नरहेको र त्यहाँबाट सवारीसाधन निर्वाध रूपमा आवतजावत गरिरहेको कार्यालयले जनाएको छ।

लोकाहा खोला पुल क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार तथ्यपरक नभएको उल्लेख गर्दै कार्यालयले सही सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

नारायणघाट–बुटवल सडक खण्ड हुँदै यात्रा गर्ने सवारीचालक तथा यात्रुहरूले पुरानो पुलको सट्टा नयाँ पुल प्रयोग गरी आवागमन गर्न सक्नेछन्। पुरानो पुलमा देखिएको प्राविधिक समस्याका कारण नयाँ पुलबाट हुने आवागमनसमेत प्रभावित भएको भन्ने भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.