हेटौंडा, असोज २३ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–५, सानोपोखराबाट ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४ थान चेकबुक र ४३ थान सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ असोज २२ गते दिउँसो करिब ४ बजे सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेराकोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त स्थानमा कानुनबमोजिम खानतलासी गर्दा विभिन्न सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–८ का अन्दाजी १९ वर्षीय अजय कुमार यादव र पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का अन्दाजी २१ वर्षीय रोशन राय यादव रहेका छन्। खानतलासीका क्रममा उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका प्रतिलिपि ५२ थान, प्रयोग भइसकेका एनसेलका सिमकार्ड २२ थान, सिलप्याक अवस्थामा रहेका सिमकार्ड २१ थान र अन्य व्यक्तिका नाममा रहेका चेकबुक ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।














