हेटौँडा–४ लाई प्रदेश राजधानीको नमुना वडा बनाउने लक्ष्यसहित विकासका काम अघि बढिरहेका छन् : वडाध्यक्ष सिग्देल

हेटौँडा, असोज २५ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले वडा नं. ४ लाई बागमती प्रदेशको राजधानीको पहिचान झल्काउने क्षेत्रका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माण तथा सामाजिक विकासका कार्यक्रम अघि बढाइएको बताएका छन् ।

चिल्ड्रेन पार्क टोल विकास संस्थाको २४औँ साधारणसभाको उद्घाटन गर्दै वडाध्यक्ष सिग्देलले वडा नं. ४ को विकासलाई वडाको सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने बताए । प्रदेश राजधानीको मुहारका रूपमा रहेको यस वडालाई व्यवस्थित र सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधार, शिक्षा, खेलकुद, धार्मिक पर्यटन तथा खुला मैदानको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

उनले सडकमा सवारीसाधन र फुटपाथमा पैदलयात्रीको सहज आवागमन, भूमिगत ढल व्यवस्थापन, हरित नगर निर्माण तथा उज्यालो र सुरक्षित सहर एवं बस्ती विकासमा ध्यान दिइएको बताए ।

आफ्नो कार्यकालमा वडाभित्र स्तरीय विद्यालय भवन, दुईवटा कभर्ड हल, किरियापुत्री भवन, योग भवन, सार्वजनिक शौचालय, घरेलु उत्पादन तथा प्रदर्शनी भवन, प्रहरी कार्यालय, स्वास्थ्य केन्द्र र ज्येष्ठ नागरिक कक्षलगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए । त्यसैगरी चिल्ड्रेन पार्कको स्तरोन्नति, श्रमिक पार्क तथा खेलमैदान निर्माणका काम पनि अघि बढाइएको उनले बताए ।

वडालाई सफा र हरियालीयुक्त बनाउने, गुणस्तरीय विद्यालय शिक्षाको व्यवस्था गर्ने तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन भइरहेको सिग्देलले बताए । महिला, बालबालिका तथा युवाको क्षमता अभिवृद्धि र सीप विकासका कार्यक्रमसमेत नियमित रूपमा सञ्चालन गरिरहेको उनको भनाइ छ ।

केही सडक निर्माणका काम भने निर्माण व्यवसायीको उदासीनता, बजारमा निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण अपेक्षित गतिमा अघि बढ्न नसकेको उनले बताए । अधुरा रहेका कामलाई यथाशीघ्र अगाडि बढाउन आफूहरू प्रयासरत रहेको पनि उनले उल्लेख गरे ।

टोल विकास संस्थाकी अध्यक्ष सुशिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सामाजिक अगुवाहरू बद्रिप्रसाद लम्साल र गणेश श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण तथा आयव्यय विवरण प्रस्तुत गरी पारित गरिएको थियो । साथै उत्कृष्ट बचतकर्ता, ऋणी तथा नियमित उपस्थित हुने सदस्यहरूलाई सम्मान गरिएको संस्थाकी सचिव कल्पना थापाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.