समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

काठमाडौँ, कार्तिक १३ गते । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार पत्रकारलाई नियन्त्रणमा लिने क्रममा पक्राउको स्पष्ट कारण खुलाइएको थिएन। त्यस्तै, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा सम्बन्धित विषयमा अपराधको जाहेरी परेको वा नपरेको समेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारमाथि यस्तो कदम चालिनु आपत्तिजनक रहेको काउन्सिलको ठहर छ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले सञ्चार क्षेत्रको स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामाथि चिन्ता थपिएको प्रेस काउन्सिलले उल्लेख गरेको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति कुनै असहमति भएमा वा पत्रकार आचारसंहिता उल्लंघन भएको विषयमा उजुरी परेमा त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको काउन्सिलले स्पष्ट पारेको छ।

समाचार सामग्रीकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

त्यसैगरी, नियन्त्रणमा लिइएका पत्रकारको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न र पक्राउको कानुनी आधार स्पष्ट पार्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना पत्रकारलाई नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सत्यतथ्यमा आधारित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धन आफ्नो प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले त्यसका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.