मनहरी, कार्तिक २६ गते । मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालस्थित राप्ती नदीको किनारमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६, जोगीताल निवासी ७४ वर्षीय पूर्णबहादुर जिम्बा रहेका छन्।
प्राप्त विवरणअनुसार, मिति २०८३ कात्तिक २५ गते बिहान करिब ११ बजेको समयमा जिम्बा गाईवस्तु चराउन गोठालो गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि उनका छोराहरूले खोजतलास गर्ने क्रममा सोही वडास्थित राप्ती नदीको किनारमा उनलाई मृत अवस्थामा फेला पारेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिई घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको कमाण्डमा SOCO सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी विवरणअनुसार मृतकको घरबाट घटनास्थल करिब २ किलोमिटर पश्चिमतर्फ पर्दछ।
आज (बिहीबार) पोस्टमार्टम (शव परीक्षण) सम्पन्न भएपछि मृतकका आफन्तले शव बुझिलिएका छन्।
घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

















