भीमफेदी, कार्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा रिफर गरिएको छ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेका थिए। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा विपद् व्यवस्थापन टोली उद्धारमा परिचालित भएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बलबाट १० जना तथा नेपाली सेनाबाट ११ जनाको टोली उद्धारमा खटिएको थियो। त्यसैगरी, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट समेत प्रहरी टोली परिचालित भएको थियो।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन बिहान १०ः४० बजे बागमती प्रदेश प्रहरी गण हेटौंडाबाट प्रहरी निरीक्षक बालकृष्ण पुडासैनीको कमाण्डमा १३ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट थप चार जनासहित १७ जनाको टोली परिचालन गरिएको थियो। उक्त टोली दिउँसो १२ः०५ बजे घटनास्थल पुगेको थियो।
उद्धारका क्रममा बिहान ७ः४० बजे तीन जना घाइतेलाई हेटौंडा अस्पताल पुर्याइएको थियो। त्यसपछि बिहान ८ः१५ बजे घटनास्थल आसपास खोजतलास गर्दा थप दुई जना पुरुष घाइते अवस्थामा फेला परेका थिए। बिहान ९ः४० बजे थप एक जना १४ महिनाका बालकलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। यससँगै दुर्घटनामा घाइते हुनेको संख्या छ पुगेको हो।
प्रहरीको पछिल्लो विवरणअनुसार घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
त्यस्तै, तीन वर्षीय सुजन यादवको टाउको र मुखमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकोमा थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ। यसैगरी, १४ महिनाका बालक सुदिप यादवलाई घाइते अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको र पछि थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको प्रहरी विवरणमा उल्लेख छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये चालकसहित १४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन्।
त्यसैगरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, २८ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको छ।
यसैगरी, खोज तथा उद्धारका क्रममा थप तीन जनाको शव फेला परेको थियो। मृत्यु हुनेमा ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव र १७/१८ वर्षीय सुधेश यादव रहेका छन्। उनीहरूको शव साँझ करिब ६ बजे हेटौंडा अस्पताल ल्याई सनाखत गरिएको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेको कुल संख्या १४ पुगेको हो।
प्रहरीका अनुसार दुर्घटनास्थलमा बिहानदेखि साँझसम्म खोज तथा उद्धार कार्य जारी राखिएको थियो। थप तीन जनाको शव फेला पारी सनाखत गरेपछि घटनास्थलमा खटिएका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सम्पूर्ण टोली फर्किएका छन्।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। एकै परिवारका सदस्य तथा बालबालिकासमेतले ज्यान गुमाउनुपरेको यस हृदयविदारक घटनाले सर्लाहीसहित मकवानपुर र देशभर शोक छाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















