हेटौंडा, कार्तिक २९ गते । हेटौंडाका विभिन्न स्वास्थ्य प्रयोगशालाहरूमा सेवाग्राहीले भोग्नुपरेका समस्या, परीक्षणको गुणस्तर र रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सामाजिक अभियन्ता विशालराज महतले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सेवा सहयोग र आवाजमा हामीका अध्यक्षसमेत रहेका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै स्वास्थ्य परीक्षण र रिपोर्टको नाममा आमनागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नभएको बताएका छन्।
उनका अनुसार हेटौंडाका विभिन्न प्रयोगशालाबाट सेवाग्राहीले भोग्नुपरेका समस्या तथा लापरवाहीका गुनासाहरू पटक–पटक प्राप्त भइरहेका छन्। यो कुनै एक दिन वा एक व्यक्तिसँग मात्र सम्बन्धित विषय नभई विभिन्न सेवाग्राहीले भोग्दै आएका समस्यासँग जोडिएको उनको भनाइ छ।
महतले गुनासो गर्ने सेवाग्राहीलाई फकाउने तथा रकम फिर्ता गरेर घटनालाई सामसुम पार्ने प्रयाससमेत हुने गरेको जानकारी आएको उल्लेख गरेका छन्। त्यस्तै, प्रयोगशालामा परीक्षण तथा रिपोर्टको शुल्क नगद बुझाउँदा सेवाग्राहीलाई बिल उपलब्ध नगराउने गरेको गुनासो पनि आएको उनले बताएका छन्।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा परीक्षणको गुणस्तर, रिपोर्टको विश्वसनीयता र आर्थिक पारदर्शिता सुनिश्चित हुनुपर्नेमा जोड दिँदै महतले सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
यस विषयमा हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखासँग सम्पर्क गर्दा प्रयोगशालाहरूको अनुगमन गर्ने प्रतिबद्धता व्यक्त भएको पनि उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।
महतले हेटौंडाका सबै स्वास्थ्य प्रयोगशालाको प्रभावकारी अनुगमन गर्न, परीक्षणको गुणस्तर तथा रिपोर्टको विश्वसनीयता जाँच गर्न र सेवाग्राहीले तिरेको प्रत्येक शुल्कको अनिवार्य बिल उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन्।
त्यसैगरी, लापरवाही पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गर्न तथा सेवाग्राहीका गुनासो सुनुवाइ र आवश्यक क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्नसमेत उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
उनले कसैप्रति पूर्वाग्रह राखेर आरोप लगाउने उद्देश्य नभएको स्पष्ट पार्दै नागरिकको स्वास्थ्य जोखिममा पर्ने गरी हुने कुनै पनि लापरवाहीलाई सामान्य रूपमा लिन नसकिने बताएका छन्।
स्वास्थ्य सेवा व्यापार हुन सक्ने भए पनि नागरिकको स्वास्थ्य खेलौना हुन नसक्ने उल्लेख गर्दै महतले हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखा तथा सम्बन्धित नियमनकारी निकायलाई अनुगमनको प्रतिबद्धता व्यवहारमा उतार्न आग्रह गरेका छन्।
‘अनुगमनको प्रतिबद्धता मात्र होइन, परिणाम चाहिन्छ’ भन्दै उनले जनताको स्वास्थ्यसँग खेलवाड हुन नदिन आफ्नो खबरदारी र निगरानी निरन्तर जारी रहने बताएका छन्।

















