उपचौर, मंसिर ६ गते । मकवानपुरको बकैया गाउँपालिका–६ उपचौरमा बालबालिकाले आगो खेलाउने क्रममा एक घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्राप्त जानकारीअनुसार, आज बिहान करिब ७ बजे स्थानीय प्रकाश बलको काठले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बालबालिकाले आगो खेलाउने क्रममा अचानक आगलागी भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
आगलागी भएपछि स्थानीयवासीहरू एकजुट भई आगो निभाउन खटिएका थिए। स्थानीयको सक्रियतामा बिहान करिब ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडासमेत जलेर नष्ट भएका छन्। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ।
आगलागीबाट घरसहित करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गरगरे, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।












