देवलटार, मंसिर ६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देवलटारस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हाईस गाडी दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ।
आज दिउँसो करिब २:२० बजे काठमाडौंँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ ख ६०३५ नम्बरको हाईस गाडी बिग्रिएर सडकमा रोकिएको अवस्थामा अचानक पछाडि ब्याक भई सडकबाट करिब २ मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत, मकवानपुरबाट ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनाका बेला हाईसमा कोही पनि सवार नरहेकाले मानवीय क्षति हुन पाएन। दुर्घटनामा हाईस गाडीमा क्षति पुगेको छ भने गाडी घटनास्थलमै रहेको छ।
हाईस चालक सर्लाहीको बरथहवा नगरपालिका–२ निवासी करिब ४४ वर्षीय लवहरी थापा रहेको प्रहरीले जनाएको छ। चालकले मादक पदार्थ सेवन नगरेको र कागजातसमेत ठीक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।












