मकवानपुरमा लागूऔषध गाँजासहित चार जना पक्राउ, साढे ४ किलोभन्दा बढी गाँजा बरामद

कुखरेनी, मंसिर ७ गते । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आज हेटौँडा उपमहानगरपालिका–९, कुखरेनीस्थित सडकमा बा.प्र. ०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर प्रहरीले रीतपूर्वक खानतलासी गरेको थियो। सो क्रममा हेटौँडा उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय जोसु तामाङ र वडा नं. १४ बस्ने २३ वर्षीय अमन तामाङको साथबाट गाँजाको धुलोजस्तो देखिने (पोलार) पदार्थ ९२० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–१, टौबास कोलनीस्थित अर्को स्थानबाट बा.प्र. ०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका–८ निवासी अन्दाजी २१ वर्षीय अमिर तामाङ र पछाडि सवार सोही स्थानका १९ वर्षीय समर बलको साथबाट ३ किलो २१० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै स्थानबाट गरी कुल ४ किलो १३० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। बरामद लागूऔषधसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.