हेटौंडा–१० मा निर्माणाधीन पारिजात घण्टाघर अन्तिम चरणमा, पुस मसान्तसम्म उद्घाटन गर्ने लक्ष्य

हेटौँडा, मंसिर ७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रमा निर्माण भइरहेको पारिजात घण्टाघरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण कार्यले तीव्रता पाएसँगै आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य लिइएको वडा कार्यालयले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले निर्माणाधीन घण्टाघरको टुप्पोबाट मोबाइल मार्फत भिडियो खिच्दै यसको विशेषता र निर्माणको अवस्थाबारे जानकारी दिएका छन्। उनले भिडियोमा ‘ल, हेर्नुस्’ भन्दै घण्टाघरको टुप्पोबाट वरपरका विभिन्न स्थान देखाउँदै यस क्षेत्रको भौगोलिक अवस्थिति र दृश्यावलोकन गर्न सकिने जानकारी दिएका छन्।

वडाध्यक्ष लामाका अनुसार निर्माण सम्पन्न भएपछि घण्टाघरको माथिल्लो भागबाट वडा कार्यालय, कोसेली घर, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, कर कार्यालय तथा नवनिर्मित बसपार्क टर्मिनललगायत आसपासका क्षेत्र स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ।

उनले घण्टाघर निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आगामी पुस मसान्तसम्म निर्माण कार्य पूरा गरी उद्घाटन गर्ने लक्ष्य रहेको बताएका छन्।

स्थानीय कला, संस्कृति र सहरी सौन्दर्यलाई समेत झल्काउने उद्देश्यले निर्माण भइरहेको पारिजात घण्टाघरले वडा नम्बर १० को सौन्दर्य अभिवृद्धि गर्नुका साथै हेटौंडा सहरको पहिचान र आकर्षण बढाउने अपेक्षा गरिएको छ।

घण्टाघर निर्माण सम्पन्न भएपछि यो संरचना हेटौंडाको नयाँ पर्यटकीय आकर्षण तथा दृश्यावलोकनको गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ। साथै, यसले स्थानीय विकास, सांस्कृतिक पहिचान र सहरी पूर्वाधार विस्तारमा समेत नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

वडा कार्यालयले विकास निर्माणलाई प्राथमिकतामा राख्दै अघि सारेको यस योजनालाई ‘विकास निर्माण हाम्रो प्रतिबद्धता, समृद्ध वडा हाम्रो लक्ष्य’ भन्ने नारासहित अगाडि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.