सिमलटार, मंसिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले १२औँ पार्टी पुनर्गठन दिवस तथा २६औँ जनमुक्ति सेना स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। दिवसको अवसर पारेर पार्टीले एक आश्रमलाई सहयोगसमेत हस्तान्तरण गरेको छ।

हेटौंडा उपमहानगरपालिका–सिमलटारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका जिल्लागत नेतृत्व, विभिन्न संगठनमा आबद्ध नेता तथा प्रतिनिधि, शुभचिन्तक र पार्टीका समर्थकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित पार्टीका नेता तथा विभिन्न संगठनका प्रतिनिधिहरूले पार्टीसँग सम्बन्धित राजनीतिक, वैचारिक तथा संगठनात्मक विषयमा आ–आफ्ना धारणा र मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले पार्टी पुनर्गठन दिवस तथा जनमुक्ति सेना स्थापना दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्दै पार्टीको आगामी कार्यदिशा र संगठनात्मक भूमिकाका विषयमा समेत विचार राखेका थिए।

दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आश्रमलाई सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरणसहित सम्पन्न कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकबीच आपसी सद्भाव, एकता र संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।













