उर्लाबारी। विभिन्न तालिम र सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उर्लाबारी नगरपालिकाले राष्टपती महिला सशक्तीकरण परियोजना अन्तरगत यसपटक सन्थाल समुदायलाई लक्षित गरी ऐतिहासिक पहल थालेको छ।
परम्परागत पहिरन ‘पन्चि’ र ‘पालाहान्दा’ बुन्ने सीप विकास तालिम सुरु गरेर नगरपालिकाले संस्कृतिको संरक्षण र लोपोन्मुख सन्थाल महिला सशक्तिकरणमा जोड दिएको छ। अल्पसंख्यक सन्थाल समुदायको बाक्लो बसोबास रहेको उर्लाबारी–८ कदमटोलीमा आईतवार नगरपालिकाले भारतको कोलकाता बाट विशेष मेशिन आयात गरी समुदायलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा समुदायलाई मेसिन हस्तान्तरण गर्दै नगर उप प्रमुख मिना खतिवडा पौडेलले अल्पसंख्यक सन्थाल जातिलाई आफनो पहिचान झल्कने पहिरन आफै उत्पादन र संरक्षणमा सहज होस भन्ने उदेश्यले यो कार्यक्रम ल्याईएको बताउनु भयो । नगरपालिकाकी सामाजिक विकास अधिकृत चन्द्रकला सुब्बाका अनुसार, कुल १० लाख १० हजार रुपैयाँको लगानीमा तीनवटा शीर्षकमा कार्यक्रम संचालन गरिएको हो ।
जाहेरमान मज्यीयान सामुदायिक केन्द्रमा सञ्चालन भइरहेको तालिममा २० जना अल्पसंख्यक महिलाहरू सहभागी रहेका छन । भारत पश्चिम बंगालबाट आएका प्रशिक्षक तराक बसोकले उनीहरूलाई मेशिन चलाउने तालिम र परम्परागत कपडा बुन्ने सीप सिकाइरहेका छन्। तालिम अवलोकन तथा अनुगमनका लागि नगर उपप्रमुख पौडेल, अधिकृत सुब्बा, तथा लैङ्गिक हिंसाविरुद्धकी परामर्शदाता जानकी कुवँर समेत सहभागी थिए।
जाहेरमान मज्यीयान संस्थाका सदस्य वीरेन्द्र मर्डी भन्छन्, “चुलोचौकामा सीमित संथाल महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने नगरपालिकाको प्रयास सराहनीय छ।” तालिममा सहभागी उर्लाबारी–८ की सुकरमनी मर्डीले पहिलो पटक यस्तो अवसर पाउँदा आफू निकै खुसी भएको बताइन्। कार्यक्रमले अल्पसंख्यक सन्थाल समुदायको सांस्कृतिक पहिचान जोगाउन मात्र नभई महिलालाई आर्थिक रूपमा सक्षम बनाउने दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।














