मकवानपुर । चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न माग गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न जोडदार माग गरेको हो । नागरिक, सामाजिक अभियान्ता, राजनीतिक दलहरु र सार्वजनिक जमिन संरक्षण समितिले सार्वजनिक जमिन बचाउको लागि राज्यका सबै निकायमा गरेको पटक पटकको ध्यानाकर्षण र अनुरोधलाई वेवास्ता हुँदा हेटौँडा उपमहानगरपालिका १ चौकिटोल, जरुवाटोल सब्जिमन्डीको उत्तरी भागमा रहेको सार्वजनिक जमिन स्थानीय गुन्डागर्दि र हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेको मिलोमतोमा २ विगाह खाली जमिनमा माटो भर्ने काम र मकै खेति गरि कब्जा गर्ने कार्यमा संलग्नता र जरुवाटोल, चौकिटोल सुकुम्बासी बस्तीमा घर टहरा निर्माणमा नगर प्रहरी प्रयोग गरि दुख दिएको, पानी बत्ति लगायतका सिफारिस तथा सेवा सुबिधामा दुख दिएको आवेगमा जनताले अध्यक्ष माथि कालोमोसो दलेको हुनसक्ने प्रेस विज्ञप्ति मार्फत जानाइएको छ ।
विज्ञप्ति मार्फत घटनामा दोषी उपर कानुनी कारबाही प्रकृया बढाएता पनि मनहरी-२, भुन्द्रुङखोलाका मानसिं स्याङतान, विक्रम रुम्बा, माइला स्याडतानलाई विनाकारण मिति २०८२ आषाढ ५ गते विहान ४:०० बजे सुतिरहेको समयमा गिरफतार गरिएको र जनताको टोल, गाँउ घरमा गई विना गल्ती प्रहरीले आतंक मच्चाइ धरपकड गर्ने कार्य प्रती घोर भर्त्सना जनाएको छ । गिरफतार गरिएका तीन जना निर्दोष व्यक्तिहरुलाई सकुशल विनासर्त रिहाई गर्न विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।
साथै चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिका संयोजक दिपक प्रसाद परियारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत जनताको आक्रोशमा घाइते भएका वडा अध्यक्ष सविन न्यौपाने प्रती स्वास्थ्य लाभको कामना गरेको छ ।














