काठमाडौं, भदौ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत संघीय संसद्को प्रतिनिधिसभाका २० जना सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अभाव, दूषित राजनीतिक अभ्यास तथा सामाजिक अन्यायको विरोधस्वरूप रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण सदस्यहरूको राजीनामा सार्वजनिक गरेको हो।
रास्वपाले विज्ञप्तिमार्फत देशको हालको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राजनीतिक परिवर्तनका नाममा जनतामाथि अन्याय भइरहेको र आम जनताको आशा निराशामा परिणत भइरहेको जनाएको छ।
विज्ञप्तिमा उल्लेखित प्रमुख मागहरू:
१) प्रधानमन्त्रीको तत्काल राजीनामा
२) घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन
३) सर्वपक्षीय नागरिक सरकार
४) प्रधानमन्त्री गृहमन्त्री सञ्चारमन्त्री साथै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथ हिरासतमा लिई सबै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग
५) संविधानको संशोधनको प्रक्रिया आरम्भ
६) ठूला भ्रष्टाचारका काण्डहरूको छानबिनका लागि अधिकार सम्पन्न आयोगको गठन
सामूहिक राजीनामा दिने सांसदहरूमा रास्वपाका शीर्ष नेताहरू सहित २० जना सांसदहरू छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार राजीनामा दिने सांसदहरूको सूची निम्नानुसार छ:
१. रवि लामिछाने, संसदिय दलको नेता
२. डोरप्रसाद अर्याल, संसदीय दलको पूर्व नेता
३. डा. सोनिम वाग्ले, सदस्य
४. विराज भक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, कोष अध्यक्ष
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोविधा गौतम, सदस्य
११. डा. तोशीमा कार्की सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा. डा. चन्दा कार्की (भण्डारी) सदस्य
१५. असीम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. वृन्दावासिनी कांसाकार, सदस्य
यस सामूहिक राजीनामाले वर्तमान सत्ता संरचना र राजनीतिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ। अबको राजनीतिक कदम र जनताको प्रतिक्रिया निर्णायक हुने देखिन्छ।














