हेटौंडा, भदौ ३१ गते । बागमती प्रदेशसभाको भवन संरचना हालैको आन्दोलन र आगजनीका कारण पूर्णरूपमा ध्वस्त भएको छ। प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार पुरानो प्रदेश सभाको भवन, सचिवालय भवन, प्रतिनिधिसभा भवन र संसदीय दलका कार्यालयहरूमा ठूलो क्षति पुगेको छ।
पौडेलले रेडियो भरोसासँगको विशेष कुराकानीमा बताएअनुसार, भूकम्पबाट पहिले नै कमजोर बनेका पुराना संरचनाहरू यस पटकको घटनामा पूर्णरूपमा भत्किएका छन्। नयाँ प्रतिनिधिसभा भवन पनि आगजनीका कारण पूर्णरूपमा ध्वस्त भएको र त्यही सबैभन्दा बढी क्षतिको रूपमा देखिएको उनले बताएका छन्।
सचिवालयको पुस्तकालय, सुरक्षाकर्मी पोस्ट तथा अन्य कक्षहरूसमेत ध्वस्त भएको जानकारी दिँदै पौडेलले भने, “अहिलेसम्म हाम्रो कर्मचारीहरूलाई काम गर्ने कक्षसमेत छैन। वैकल्पिक माध्यम खोजेर मात्रै प्रदेशसभा सञ्चालनको प्रयास गर्नुपर्ने अवस्था आएको छ।”
आन्दोलनका क्रममा प्रदेशसभाभित्र रहेका मोटरसाइकल, स्कुटर लगायतका सवारी साधनसमेत क्षति भएको र बीमा प्रक्रियामा समस्या आएपछि सरसफाइ र पुनःनिर्माणमा ढिलाइ भइरहेको उनले उल्लेख गरेका छन्।
पौडेलका अनुसार, फर्निचर, कम्प्युटर, ल्यापटप, माइक उपकरण लगायतका सामग्रीसहित सवारी साधनहरू गणना गर्दा करिब ३४–३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तर भवनसम्बन्धी खर्चको यकिन विवरण भने प्राविधिक टोलीको प्रतिवेदन आएपछि मात्र सार्वजनिक हुने र त्यसका लागि अझै एक साताजति समय लाग्ने जानकारी उनले दिएका छन्।
यसैबीच सभामुखले राजीनामा दिएको चर्चा भए पनि औपचारिक लिखित राजीनामापत्र भने सचिवालयमा नआएको पौडेलले प्रष्ट पारेका छन् ।