“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

हेटौंडा, अशोज ८ गते । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले हालको आन्दोलनलाई जेन जि आन्दोलनको नाममा बदनाम बनाइएको आरोप लगाएका छन्। रेडियो भरोसासँगको विशेष अन्तर्वार्तामा मन्त्री केसीले काठमाडौंमा सुरु भएको जेन जि आन्दोलन युवा पुस्ताको जागरणका रूपमा आएको भए पनि हेटौंडा लगायतका जिल्लामा देखिएको हिंसात्मक गतिविधि भने “प्रतिशोध र तोडफोडका रूपमा मात्र प्रकट भएको” बताएका छन्।

उनका अनुसार भाटभटेनी सुपरमार्केटदेखि वन मन्त्रालयका गाडीहरुसम्ममा गरिएको क्षति कुनै आन्दोलनकारी चेतना नभई योजनाबद्ध आक्रोशको उपज हो। “यो आन्दोलनले भ्रष्टाचारविरुद्धको सवालभन्दा बढी स्थानीय अन्तरविरोध मिलाउने, प्रतिशोध साध्ने माध्यमका रूपमा काम गर्‍यो,” मन्त्री केसीले भने।

प्रदेश खारेजी मागबारे प्रश्न सोध्दा मन्त्री केसीले तीन तहको सरकार संविधानको मर्म भएको भन्दै खारेजी होइन, सुदृढीकरणतर्फ जानुपर्ने आवश्यकता औंल्याए्का छन्। उनले प्रदेश सरकारले सडक, अस्पताल, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको भए पनि त्यसको प्रचार–प्रसार अभावमा जनस्तरमा प्रभाव देखिन नसकेको स्वीकार गरेका छन्।

जेन जि आन्दोलनका नारामध्ये सुशासन र भ्रष्टाचारविरोधी एजेन्डा जायज रहेको भन्दै उनले आन्दोलन “अपहरण” भएर बीचौलियाहरूको हातमा परेको बताएका छन्। मन्त्री केसीका अनुसार, आन्दोलनलाई मौकावादीहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेकाले जेन्जी पुस्ताले कुनै ठोस उपलब्धि हासिल गर्न सकेन।

उनले अन्त्यमा भने, “युवाहरू राजनीतिप्रति सचेत र सक्रिय हुनु सकारात्मक कुरा हो। तर हिंसात्मक गतिविधि आन्दोलन होइन, प्रतिशोध हो।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.