काठमाडौं, अशोज २६ गते । खोजमूलक पत्रकारितामा सक्रिय पत्रकार दिवाकर शाहले पछिल्ला दिनमा आफूविरुद्ध फैलाइएका भ्रम र आरोपहरूप्रति सार्वजनिक स्पष्टीकरण दिएका छन्। शाहले भिडियो मार्फत आफूमाथि आएको “भ्रामक समाचार सम्प्रेषण” गरेको आरोप अस्वीकार गर्दै आफूले प्रस्तुत गरेका सबै सामग्रीहरू सप्रमाण र तथ्यमा आधारित रहेको दाबी गरेका छन्।
शाहका अनुसार आफ्नो च्यानलले टीआरपीका लागि भ्रामक समाचार बनाएको भन्ने कुरा निराधार छ। उनले भने, “हामी पत्रकार हौं, न्यायाधीश होइनौं। हामीलाई सूचना जसरी सप्रमाण प्राप्त हुन्छ, त्यसैका आधारमा समाचार तयार पारिन्छ।”
उनले भनेका छन् कि निर्मल निवास (प्रधानमन्त्री निवास) वरपर रातको १२ बजे अन्तर्राष्ट्रिय दूतावासको नम्बर प्लेट भएको गाडी आएको भिडियो प्रत्यक्ष प्रमाणका रूपमा आफूसँग रहेको छ। उनले सो गाडीबारे प्रश्न उठाउँदै भने, “रातको १२ बजे प्रधानमन्त्री निवासमा दूतावासको गाडी किन पुग्छ? प्रमाण मसँग होइन, बालुवाटारसँग माग्नुस्।”
शाहले चारवटा प्रमुख साक्ष्यहरू प्रस्तुत गरेका छन् —
प्रधानमन्त्री निवासमा रातको समयमा दूतावासको गाडीको आवागमन सम्बन्धी भिडियो,
जेन जि आन्दोलनका क्रममा पेस्तोलजस्तो वस्तु बोकेका व्यक्तिहरूको दृश्य,
आन्दोलनकारी युवालाई धम्कीपूर्ण टेलिफोन संवाद, र
निर्मल निवास आसपास पत्रकारलाई रोकिएको क्षणका दृश्यहरू।
उनी भन्छन्, यी प्रमाणहरू प्रहरी प्रशासनलाई बुझाउने तयारीमा छन्। साथै, आफूलाई मुद्दा हाल्ने चेतावनी दिनेहरूलाई चुनौती दिँदै शाहले भने, “मुद्दा हाल्न चाहनुहुन्छ भने हाल्नुस्, म तयार छु। तर प्रमाण खोज्न मसँग होइन, बालुवाटारमा जानुस्।”
शाहले यो पनि स्पष्ट पारे कि भिडियोमा कसैको प्रत्यक्ष नाम उल्लेख गरिएको छैन, केवल इङ्कित गरिएको हो। उनले जनतालाई आग्रह गर्दै भने, “हामी सत्य खोज्ने पत्रकार हौं, भ्रम फैलाउने होइनौं। जसलाई हाम्रो समाचारप्रति विश्वास छैन, उनीहरूले अन्फलो गर्न सक्नुहुन्छ। तर सत्य लुकाउँदिनौं।”
उनले अन्त्यमा जोड दिए, “हामी जीवन र मृत्युको बीचमा उभिएर पनि सत्य बोल्ने हिम्मत गर्छौं। हाम्रो उद्देश्य कसैलाई दोषारोपण होइन, जनतालाई वास्तविकता देखाउने हो।”














