काठमाडौं, मंसिर ८ गते । जीवन र मृत्युको कठोर संघर्षमा रहेकी जस्मिनले अन्ततः नयाँ जीवन पाएकी छिन्। भारतमा गरिएको उनको बोनम्यारो ट्रान्सप्लान्ट सफल भएको जानकारी सार्वजनिक हुँदै गर्दा, यो यात्रा सम्भव बनाउन पर्दापछाडि रहेर खटिएका संचारकर्मी भोजराज थापाको योगदान विशेषगरी चर्चामा आएको छ।
जस्मिनको उपचारका लागि आकस्मिक सहयोग आवश्यक परेपछि थापाले दुई दिनमै १ करोड रुपैयाँभन्दा बढी रकम जुटाइदिए। आर्थिक सङ्कलनमा मात्र सीमित नभई, उनी स्वयं भारतको अस्पतालसम्म पुगेर उपचार प्रक्रियामा प्रत्यक्ष समन्वय र साथ दिए। परिवारका सदस्यहरूका अनुसार, थापाको मानवतापूर्ण सक्रियता, सर्वसाधारणको उदार हात र चिकित्सकहरूको समर्पित उपचारकै कारण जस्मिनको स्वास्थ्यमा आज उल्लेखनीय सुधार देखिएको छ।
सफल ट्रान्सप्लान्टपछि जस्मिनको अवस्था सुधारोन्मुख रहेको छ र केही थप उपचारपछि उनलाई चाँडै नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ। उनीहरूको भनाइमा, “भोजराज थापा जस्ता मानिसहरूले समाजमा अझै पनि मानवताको गहिरो अस्तित्व छ भन्ने प्रमाणित गरेका छन्।”



























