हेटौंडा, मंसिर १३ गते । अखिल (समाजवादी) नारायणी–मधेस प्रदेश समितिेाको तेस्रो पूर्ण बैठक हेटौंडाको चौकिटोल, हेटौंडा–१ मा सम्पन्न भएको छ। बैठकमा केन्द्रिय समितिबाट पारित निर्णयहरूको सर्कुलर वाचन गर्दै आगामी कार्यदिशा सम्बन्धी महत्वपूर्ण निष्कर्ष निकालिएको छ।
बैठकले विशेषगरी नारायणी–मधेस प्रदेशभित्रका जेन जि विद्यार्थी पुस्ताका हक–हित तथा अधिकार संरक्षणका लागि नयाँ रणनीति अघि बढाउने निर्णय गरेको छ। संगठनले अब प्रदेशस्तरमा युवावादी एजेन्डा र परिवर्तनकारी कदमका साथ विद्यार्थीहरूको सहभागिता विस्तार गर्ने धारणा बैठकमार्फत प्रस्ट पारेको छ।
यस्तै, बैठकले प्रदेशका विभिन्न जिल्लाहरूमा संगठनात्मक बैठकहरू सम्पन्न गर्दै निकट भविष्यमा जिल्ला सम्मेलन तयारी तीव्र बनाउन योजना अघि सारेको छ। संगठन विस्तार र आन्तरिक व्यवस्थापन बलियो बनाउनु बैठकको प्रमुख जोड रह्यो।
कार्यक्रममा अखिल (समाजवादी) नारायणी–मधेस प्रदेशका इन्चार्ज अटल सी, सह-इन्चार्ज लोकेश सी, कार्यालय सदस्य विवेक सी लगायत नेताहरूको उपस्थितिमा आगामी अभियानका रूपरेखा साझा गरिएको थियो।














