बिराटनगर, मंसिर १५ गते । पशु स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२/८३ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार कार्यालयले पहिलो त्रैमासिकमा निर्धारित कार्यको ८३.३७ प्रतिशत भौतिक प्रगति र ४७.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। जानकारी कार्यालय प्रमुख डा. विदुर प्रसाद गौतमले दिएका छन्।
उनका अनुसार भारत–नेपाल सीमा क्षेत्रमा अवैध रुपमा पस्ने जोखिमयुक्त पशु तथा पशुजन्य सामग्री नियन्त्रणमा यस अवधिमा विशेष कडाइ अपनाइएको छ। विराटनगर रानी नाका सहित भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकामा आयात–निर्यात प्रक्रियाको नियमित निगरानी गर्दै कडाइका साथ जाँच भइरहेको प्रतिवेदनले उल्लेख गरेको छ।
कार्यालयले अवैध वस्तु नियन्त्रण र नष्ट अभियानलाई यस त्रैमासिकमा अझ सशक्त रूपमा अघि बढाएको छ। अनुगमनका ३२ चरणमा ठूलो परिमाणका अवैध तथा जोखिमयुक्त सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ। नष्ट गरिएका सामग्रीमा २४० केजी ब्रोलर कुखुराको मासु, ३२९ वटा बोइलर कुखुरा, २९ क्रेट सेतो अण्डा, १०४ केजी पहिचान नखुलेको मासु, ३० केजी प्याकेट सी–फिस, १० पिस एक्वेरियम माछा, ७३५ केजी फ्रोजन फिस र २० केजी माछाको सिद्रा रहेका छन्।
यससँगै सीमा क्षेत्रमा दैनिक रुपमा पशु स्वास्थ्य परीक्षण, संक्रमण जोखिम न्यूनीकरण, सवारीसाधन स्यानिटाइजेसन तथा आयात हुने कच्चा पदार्थका नमुनाको प्रयोगशाला परीक्षण समेत गरिँदै आएको कार्यालयले स्पष्ट पारेको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्योग–व्यवसायीसँगको सहकार्यमा सीमा क्षेत्रमा अवैध गतिविधि रोकथाममा प्रभावकारी परिणाम देखिन थालेको क्वारेन्टाइन कार्यालयले जनाएको छ।















