हेटौंडा, मंसिर १५ गते । नेकपा एमाले, मकवानपुरमा ११औँ महाधिवेशन (मंसिर २७–२९) का लागि प्रतिनिधि छनोट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको एमाले नेता नवीन सिग्देलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधि छान्ने क्रममा जिल्लामा सर्वसम्मत र निर्वाचन दुवै अभ्यास प्रभावकारी रूपमा अपनाइएको थियो।
२ नं. संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको थियो भने १ नं. संघीय क्षेत्र तथा जिल्लाका दलित क्षेत्रका प्रतिनिधि भने निर्वाचनमार्फत चयन गरिएको सिग्देलले बताएका छन्। महाधिवेशनमा सहभागी हुने तीव्र आकांक्षा हुँदाहुँदै पनि प्रतिनिधिमा नपर्ने कार्यकर्ताले समेत विवादरहित रूपमा सर्वसम्मत प्रक्रियालाई समर्थन गरेको उनले उल्लेख गरेका छन्।
विकट भूगोल र छोटो समयको सूचना हुँदाहुँदै पनि आकांक्षीहरूबीच उत्साहजनक, मित्रवत र स्वस्थ प्रतिस्पर्धासहित निर्वाचन सम्पन्न भएको उनले बताएका छन्। दुवै अभ्यासले एमाले मकवानपुरको संगठनात्मक जीवनमा रहेको अनुशासन, सांस्कृतिक परम्परा र सम्य राजनीतिक व्यवहारको पुनः पुष्टि गरेको उनको भनाइ छ।
छोटो सूचना हुँदाहुँदै कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति, व्यवस्थित निर्वाचन प्रणाली, पार्टीभित्र तीन पुस्ताको सहभागिता तथा नतिजालाई हार्दिकतापूर्वक स्वीकार गर्ने संस्कृतिलाई यसपटकको छनोट प्रक्रियाको प्रमुख विशेषता रहेको सिग्देलले उल्लेख गरेका छन्।
उनका अनुसार यी सकारात्मक अभ्यासलाई पूँजीका रूपमा उपयोग गर्दै आगामी दिनमा एमाले मकवानपुरले आन्तरिक एकता सुदृढ गर्दै जनताको चाहना र जिल्लाको आवश्यकताअनुसार अघि बढ्नु आवश्यक छ।
“मकवानपुरमा एमाले आज पनि जनमत र संगठन दुवैमा बलियो छ, आगामी दिनमा पनि कसैले रोक्न सक्दैन,” सिग्देलको भनाइ उद्धृत छ।














