हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन

हेटौंडा, मंसिर १९ गते । सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा खाली गराउने तयारी अघि बढाएसँगै होटल व्यवसायीहरूलाई आजदेखि अतिथि नराख्न औपचारिक अनुरोध गरेको छ।

गोरखापत्र राष्ट्रिय दैनिकमा मंसिर ५ गते प्रकाशित सूचनामा हेटौंडा–१५ रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको महेन्द्र राजमार्ग र बुद्धचोकदेखि सामरी पुलसम्मको त्रिभुवन राजपथमा पर्ने सडक सीमाभित्रका संरचना, व्यापारिक क्रियाकलाप तथा अतिक्रमण हटाइने उल्लेख गरिएको थियो।

उक्त सार्वजनिक सूचनाको निरन्तरतामा सडक डिभिजन हेटौंडाले मंसिर २० गतेदेखि सडक संरक्षण कार्य सुरु हुने जनाएको छ। यस क्रममा निर्दिष्ट क्षेत्रभित्र रहेका होटल तथा आवास गृहहरूले सडक संरक्षण कार्यमा सहयोग पुर्‍याउन आजको मितिदेखि अतिथि राख्न नपाउने सूचना जारी गरिएको हो।

डिभिजनका इञ्जिनियरले आदेशानुसार जारी गरिएको पत्रमा होटल व्यवसायीहरूसँग सहकार्य र सहयोगको अपेक्षा गरिएको छ। साथै, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जानकारी गराउँदै आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।

सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियानले हेटौंडा क्षेत्रको यातायात व्यवस्थापन तथा सडक सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.