कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

काठमाडौं, मंसिर २६ गते । लोकेशन तथा डिजिटल ठेगाना प्रविधिमा तीव्र रूपमा विस्तार भईरहेको ‘कहाँ एप’ले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै नयाँ सुविधा ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले होस्टल सञ्चालनमा आवश्यक दैनिक प्रशासनिक कामलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ।

पहिले नै ‘कहाँ ट्याग’मार्फत देशभरका घर, संस्था तथा व्यवसायको डिजिटल ठेगाना व्यवस्थापनमा सफल रहेको एपले निजी तथा सरकारी निकायसँग सहकार्य गर्दै सेवा विस्तार गरिरहेको छ। ललितपुर महानगरपालिकासँगको सहकार्य, विभिन्न सरकारी परियोजना, तथा नेपाल पर्यटन बोर्डसँग मिलेर १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन सम्पन्न गर्नु कम्पनीका प्रमुख गतिविधिमध्ये पर्दछन्।

कहाँ एपका अनुसार प्रविधि क्षेत्रमा प्राप्त अनुभव र सफलताका आधारमा अब होस्टल व्यवस्थापनलाई समेत स्मार्ट र पारदर्शी बनाउन यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो। परीक्षण चरणमै आधा दर्जनभन्दा बढी होस्टलले यो सेवा प्रयोग सुरु गरिसकेका छन्।

नयाँ फिचरका मुख्य आकर्षण

• विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ: विद्यार्थी कहिले होस्टल भित्र–बाहिर हुन्छन् भन्ने विवरण एपमार्फत स्वचालित रूपमा रेकर्ड हुने, जसले सुरक्षालाई थप मजबुत बनाउने जनाएको छ।

• स्वचालित हाजिरी प्रणाली: कागजी दर्ता हटाइ एपमै सुरक्षित रूपमा डिजिटल हाजिरी राखिने, आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै पाउन सक्ने सुविधा जोडिएको छ।

• सूचना तथा नोटिफिकेशन प्रणाली: होस्टलका महत्वपूर्ण सूचना, नियम, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा एपबाट प्राप्त गर्न सक्नेछन्।

• अटोमेटिक बिलिङ: शुल्क, बसोबास तथा अन्य सेवासम्बन्धी बिल स्वतः तयार भई एपमै उपलब्ध हुने र विद्यार्थीले बक्यौता विवरण तुरुन्तै हेर्न सक्ने व्यवस्था गरिएको छ।

• भर्चुअल ३६०° सफ्ट टुर र बेड बुकिङ: होस्टल कोठा तथा बेडको ३६०° दृश्य हेरी वास्तविक समयको उपलब्धता जाँच्न र मनपर्ने बेड एपकै माध्यमबाट बुक गर्न सकिनेछ।

• स्टुडेन्ट बुकिङ सिस्टम: नजिकका वा मनपर्ने होस्टल खोजी, विवरण हेर्न तथा अनलाइन बेड बुकिङ गर्न सकिने थप सुविधा उपलब्ध गराइएको छ।

• स्मार्ट डोर बेल: डिजिटल डोर बेलमार्फत विद्यार्थी वा पाहुनाको आगमनको सूचनासमेत व्यवस्थापकले वास्तविक समयमा पाउनेछन्।
कहाँ एप के हो?

लोकेशन नेभिगेसन, डिजिटल ठेगाना, भर्चुअल टुर, च्याट–एण्ड–बुकिङ, क्युआर स्क्यान तथा जिओफेन्सिङ अलर्टजस्ता सुविधासहित सार्वजनिक गरिएको ‘कहाँ एप’ले स्थान, पर्यटन र सेवा क्षेत्रलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने उद्देश्य राखेको छ। रेस्टुरेन्ट, होटल, होस्टलदेखि विभिन्न व्यवसायहरूको डिजिटल प्रोफाइलिङसहित विस्तृत विवरण एकै स्थानमा उपलब्ध गराउने यसको विशेषता छ।

कहाँ एपका अनुसार ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचरको प्रयोगले होस्टल खोज्ने, बसोबास व्यवस्थापन गर्नेदेखि सुरक्षा र पारदर्शिता सुनिश्चित गर्ने प्रक्रियालाई अझ आधुनिक र सहज बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.