मनहरी, मंसिर २९ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेपखेरा जंगलमा सिकार खेल्न गएका दुई साथीमध्ये एक जनाको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त दुर्घटनामा मनहरी–६ बालभन्ज्याङका ५० वर्षीय सेतेलाल थिङको घटनास्थलमै ज्यान गएको हो। आइतबार दिउँसो थिङ र राक्सिराङ गाउँपालिका–८ का ४५ वर्षीय गोपाल ब्लोन सिकार खेल्ने उद्देश्यले जंगलतर्फ गएका थिए।
प्रहरीका अनुसार दुवै जना आ–आफ्नो भरुवा बन्दुक बोकेर हिँडिरहेका बेला अगाडि रहेका ब्लोन लहरोमा अल्झिएर लडेका थिए। सोही क्रममा उनको बन्दुक अचानक पड्किँदा पछाडि रहेका थिङलाई गोली लाग्न गई गम्भीर घाइते भएका थिङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
दिउँसो करिब २ बजेतिर भएको घटनाको जानकारी इलाका प्रहरी कार्यालय मनहरीमा अपरान्ह ४ बजेर ४० मिनेटमा प्राप्त भएको थियो। घटनापछि ब्लोन आफैं प्रहरी कार्यालय पुगेर जानकारी गराएका थिए।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिई दुई थान भरुवा बन्दुक बरामद गरेको छ। घटनामा संलग्न ब्लोनलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।














