हेटौंडा, मंसिर २९ गते । सेवा, सहयोग र आवासमा हामीका अध्यक्ष विशालराज महतले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन स्थलमा बर्सेनि दोहोरिँदै आएको आगलागी र अव्यवस्थित फोहोर व्यवस्थापनको विरोधमा आज उपमहानगरपालिकाको प्राङ्गणमा सांकेतिक तवरबाट मौन विरोध प्रदर्शन गरेका छन्।

अध्यक्ष महतले सामाजिक सञ्जालमार्फत दिइएको समयअनुसार १२:३० बजेबाट सुरु हुने भनिएको सांकेतिक विरोध सभा केही ढिलो भए पनि दिउँसो १ बजेदेखि सुरु भएको थियो। विरोध सभा नगरपालिकाको प्राङ्गणमा केही घण्टासम्म मौन रुपमा निरन्तर जारी रह्यो। यसबारे नगर प्रहरीमार्फत नगरप्रमुखलाई जानकारी गराइए पनि नगरप्रमुख लामो समयसम्म पनि विरोधस्थलमा उपस्थित नभएपछि आन्दोलनकारीहरू असन्तुष्ट बने।
नगरप्रमुखको कुनै प्रतिक्रिया नआएपछि आन्दोलनकारीहरूले मौन आन्दोलनलाई आवाजसहितको विरोधमा परिणत गर्दै हातमा पर्चा बोकेर नाराबाजी सुरु गरे। केही समयका लागि नगरपालिकाको गेटसमेत थुनेर ‘जनताको स्वास्थ्यसँग खेलबाड गर्न बन्द गर’, ‘प्लास्टिकजन्य फोहोर जलाउन बन्द गर’, ‘फोहोर व्यवस्थापनमा ठोस नीति ल्याऊ’ जस्ता नाराहरू लगाइएका थिए।

अध्यक्ष महतले नगरपालिकाले दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापन नीति नलिएको भन्दै आलोचना गरे। उनले फोहोर जलाउने कार्यबाट निस्कने धुवाँ र दुर्गन्धले मानव स्वास्थ्यमा क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाएको बताए। नगरप्रमुखले आन्दोलनकारीको माग सुन्नसमेत नआएकोमा दुःख व्यक्त गर्दै उनले मेयर सेवक नभई शासकजस्तो व्यवहार देखिएको आरोप लगाए।
महतले आजको आन्दोलन सांकेतिक मात्र भएको जनाउँदै नगरबाट कुनै प्रतिबद्धता नआए भोलि अझ सशक्त आन्दोलन गरिने चेतावनी दिए। भोलिका दिनमा हुने आन्दोलनका क्रममा हुने क्षतिको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने उनको भनाइ थियो।

सांकेतिक विरोध सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिरूको समेत उपस्थिति थियो। श्रम संस्कृत पार्टीका मकवानपुर जिल्ला अध्यक्ष युनिस लामाले फोहोर व्यवस्थापनमा नगरप्रमुख तथा सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको बताए। उनले जनस्वास्थ्यसँग खेलबाड भइरहेको भन्दै भविष्यमा जनप्रतिनिधि छान्दा नागरिक सचेत हुनुपर्ने धारणा राखे। उनले अहिंसात्मक र रचनात्मक आन्दोलनमा पार्टीको पूर्ण समर्थन रहने बताए।

त्यस्तै, मकवानपुर जिल्ला कमिटी संयोजक जिन जिका अगुवा सुबिन खत्रीले नगरले प्रत्येक घरबाट शुल्क उठाइरहेको भए पनि फोहोर व्यवस्थापन प्रभावकारी नभएको आरोप लगाए। उठाइएको रकमको सही सदुपयोग हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा समापन भएको थियो। आन्दोलनकारीहरूले फोहोर व्यवस्थापन सुधार नगरिए आन्दोलन अझ तीव्र बनाइने चेतावनी दिएका छन्।














