हेटौंडा, पुस १ गते । हेटौंडा अस्पतालमा जन्मिएको ६ दिनको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। शिशुको मृत्यु भएपश्चात पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएपछि अवस्था थप संवेदनशील बनेको हो।
पीडित पक्षले शिशुलाई उपचारका क्रममा तातो हिटरमा राख्दा करेन्ट लागेर मृत्यु हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूको भनाइ अनुसार भर्खर जन्मिएको शिशुको मृत्यु सामान्य नभई लापरवाहीका कारण भएको हुन सक्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने माग राखिएको छ।
तर सरोकारवाला पक्ष अस्पतालले भने करेन्ट लागेर मृत्यु भएको दाबी अस्वीकार गर्दै उक्त कुरा सम्भव नरहेको र घटनाको सत्यतथ्य छानबिन प्रक्रियाबाट पुष्टि गरिने अडान लिएको छ।
घटनापछि पीडित पक्ष, अस्पताल प्रशासन, सरोकारवाला निकाय, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उपस्थितिमा छलफल गरिएको थियो। सो छलफलमा सहभागी सामाजिक अभियन्ता तथा संयोजक विशालराज महतले छानबिन प्रक्रिया पूरा नभएसम्म उपचारमा संलग्न नर्सहरूलाई तत्काल निलम्बन गर्नुपर्ने माग पीडित पक्षबाट उठाइएको जानकारी दिए।

रेडियो भरोसासँगको कुराकानीमा महतले भने, “पहिलो चरणमा छानबिन नसकिँदासम्म उपचारमा संलग्न नर्सहरूलाई निलम्बन गर्न माग गरिएको छ। त्यसपछि छानबिन टोलीको निष्कर्षअनुसार कारबाही गर्ने वा पुनः कार्यमा फर्काउने भन्ने विषयमा निर्णय हुनुपर्छ।”
यता अस्पताल पक्षले भने सत्यतथ्य बुझेर मात्र निर्णय गरिने बताउँदै छानबिनकै आधारमा अगाडि बढ्ने धारणा दोहोर्याइरहेको छ।
पीडित पक्षले भने आफ्नो ६ दिनको शिशुको मृत्यु भएको घटनामा उचित सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन्।
हाल पीडित पक्ष अस्पताल परिसरमै बसेर आफ्ना माग केन्द्रित गर्दै आवाज उठाइरहेका छन्। घटनाक्रम हेर्दा अवस्था केही नाजुक देखिएको छ भने अस्पताल क्षेत्र वरपर तनावपूर्ण वातावरण सिर्जना भएको छ।














