बकैया गाउँपालिका, पुस १ गते । मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ अँधेरीमा भएको ट्याक्टर दुर्घटनामा जम्मा १९ जना घाइते भएका छन् भने तीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भई मृत्यु हुनेमा बकैया–७ अँधेरी बस्ने अन्दाजी ५०/५५ वर्षका केशव माझी रहेका छन्। टाउकोमा गम्भीर चोट लागेका माझीलाई हेटौंडा अस्पतालमा भर्ना गरिएलगत्तै दिउँसो १४:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस्तै, सोही स्थानका अन्दाजी ५०/५५ वर्षका युवराज माझीको पनि टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई हेटौंडा अस्पतालमा इन गरिएलगत्तै दिउँसो १४:२६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका बकैया–७ अँधेरीका अन्दाजी ४५ वर्षका सन्तलाल माझीलाई पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
ट्याक्टर दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














