थाइल्यान्ड,पुस १२ गते । विगत केही सातादेखि सीमा क्षेत्रमा जारी हिंसात्मक सैन्य संघर्ष र बढ्दो तनावलाई अन्त्य गर्दै थाइल्यान्ड र क्याम्बोडिया दोस्रो पटक युद्धविराम गर्न सहमत भएका छन्।
शनिबार भएको उच्चस्तरीय वार्तामा दुवै देशले शान्ति स्थापना र हतियारको प्रयोग बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तीन दिनसम्म चलेको सघन वार्ता र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान), संयुक्त राज्य अमेरिका, चीन एवं मलेसियाको मध्यस्थतापछि यो महत्त्वपूर्ण सम्झौता सम्भव भएको हो।
पछिल्लो तीन सातामा थाइल्यान्डको उबोन रात्चाथानी र क्याम्बोडियाको प्रेह विहियर प्रान्तमा भएका शृङ्खलाबद्ध झडपहरूका कारण कम्तीमा ४७ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाखभन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन्।
मुख्यतः उपनिवेशकालीन सिमाङ्कन र त्यहाँस्थित एक प्राचीन मन्दिरमाथिको दाबीलाई लिएर उत्पन्न यो द्वन्द्वले दुवै देशबीचको व्यापारिक सम्बन्ध ठप्प बनाएको थियो भने नागरिकको जनजीवन समेत कष्टकर बनेको थियो। गत सोमबार थाई सेनाले हवाई आक्रमण समेत गरेको र त्यसको जवाफमा कम्बोडियाली पक्षले गोलीबारी गर्दा सर्वसाधारण र सैनिक गरी थप क्षति भएको थियो।
यसअघि जुलाईमा भएको युद्धविराम पनि उल्लंघन भएको पृष्ठभूमिमा, नयाँ सहमतिले सीमा क्षेत्रबाट विस्थापित भएका मानिसहरूलाई सुरक्षित रूपमा घर फर्कने वातावरण बनाउने र नागरिक बस्तीमाथि आक्रमण नगर्ने ग्यारेन्टी गरेको छ। यसका साथै दुवै देशले सैन्य मोर्चाबाहेक साइबर अपराध नियन्त्रणमा समेत आपसी सहकार्य गर्ने नयाँ एजेन्डामा हस्ताक्षर गरेका छन्।
थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा भएको यो सम्झौतालाई राजनीतिक स्थिरताका लागि निकै महत्त्वका साथ हेरिएको छ। थाई प्रधानमन्त्रीले यसलाई दिगो शान्तिको आधार भएको बताउँदै सीमा क्षेत्रको सुरक्षा र मानवीय संकट समाधानमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएकी छन्।














