काठमाडौं, पुस २० गते । नेपाली महिला फुटबलकी उदाउँदो स्टार दीपा शाहीले बंगलादेशको महिला फुटबल लिगमा आफूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। राजशाही स्टार्स एफसीबाट लिग डेब्यु गरेकी दीपाले पहिलो खेलमै चार गोल गर्दै दर्शक र फुटबल पण्डितको ध्यान तानेकी हुन्।
शनिबार सम्पन्न खेलमा राजशाही स्टार्सले नसरिन स्पोर्ट्स एकेडेमीमाथि १२–० को विशाल जित निकाल्यो। उक्त जितमा दीपा नै केन्द्रमा रहिन्। खेलको १६औँ मिनेटमै गोल खाता खोल्दै टोलीलाई अग्रता दिलाएकी उनले ५८औँ र ८०औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि खेलको ८४औँ मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै आफ्नो डेब्यु खेललाई अविस्मरणीय बनाइन्।
चार गोलसहितको सानदार प्रदर्शनपछि दीपा ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्। उनको यो सुरुवातले बंगलादेशी लिगमा मात्र होइन, नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय छविलाई समेत थप मजबुत बनाएको छ।
पछिल्लो समय नेपाली महिला फुटबलरहरू विदेशी लिगमा आकर्षणको केन्द्र बन्दै गएका बेला दीपाको यो प्रदर्शनले नयाँ सम्भावनाको ढोका खोलेको विश्लेषकहरू बताउँछन्।














