हेटौंडा, पुस २० गते । ट्राफिक चेकिङका क्रममा प्रहरी जवानलाई घाइते बनाई फरार भएका चालक तथा सवारी धनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ साल पुस १७ गते साँझ करिब ७:४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा चेकिङ ड्युटीमा खटिएका एक प्रहरी जवानलाई सवारी साधनले ठक्कर दिई घाइते बनाएको थियो। घटनापछि चालक सवारीसहित फरार भएका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
त्यसैगरी, घटनामा संलग्न सवारी साधन तथा चालकलाई फरार हुन सहयोग गरेको आरोपमा सवारी धनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ४३ वर्षीया राधिका विकविरुद्ध अवद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा घाइते प्रहरी जवानको उपचार भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।














