डम्पिङ साइटको आगलागी लापरबाही कि संरक्षित अपराध? ठोस निर्णय माग्दै नागरिकको आक्रोश

हेटौंडा, पुस २१ गते । हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा आज पुनः आगलागी भएको छ। यो घटना कुनै आकस्मिक दुर्घटना नभई पटक–पटक दोहोरिँदै आएको गम्भीर समस्या भएको भन्दै नागरिक स्तरबाट कडा प्रश्न उठाइएको छ।

सेवा, सहयोग र आवाज समूहका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा डम्पिङ साइटमा भइरहने आगलागीलाई संस्थागत लापरबाही र गैरजिम्मेवारीको परिणाम भएको उल्लेख गरेका छन्। आगलागीका कारण फोहोर मात्र नभई जनस्वास्थ्य, वातावरण र भविष्यसमेत जलेको उनको भनाइ छ।

उनले आगलागीबाट निस्कने धुवाँका कारण बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू प्रत्यक्ष प्रभावित भइरहेको अवस्थामा पनि सम्बन्धित स्थानीय सरकार मौन बसेको आरोप लगाएका छन्। पटक–पटक यस्ता घटना हुँदा पनि सम्बन्धित ठेकेदारमाथि किन कारबाही हुँदैन भन्ने प्रश्न उठाउँदै उनले यो केवल असक्षमता हो कि कसैको संरक्षणमा भइरहेको अपराध हो भन्ने गम्भीर शंका व्यक्त गरेका छन्।

फोहोर व्यवस्थापनका विषयमा जनप्रतिनिधिसँग ध्यानाकर्षण गराउन गएको प्रसंग उल्लेख गर्दै महतले मेयर मिना लामाबाट समस्या समाधानको सट्टा असहाय अभिव्यक्ति मात्र सुन्नुपरेको बताएका छन्। “मलाई मात्र किन यस्तो प्रेसर?”, “वडा अध्यक्षहरूको साथ छैन”, “बैठकमा उठेर हिँड्नेहरू छन्” जस्ता भनाइले जिम्मेवारीबाट पन्छिन खोजिएको संकेत दिएको उनको टिप्पणी छ।

उनले जनताको मतबाट निर्वाचित प्रतिनिधिले आफू असहाय भएको भन्दै जिम्मेवारीबाट भाग्न नपाउने स्पष्ट गर्दै लोकतन्त्रमा निर्णय लिने र जवाफदेही हुने दायित्व नेतृत्वकै हुने बताएका छन्। यदि दबाब झेल्न र जनताको स्वास्थ्य जोगाउन नसक्ने हो भने राजीनामा दिनु पनि विकल्प हुन सक्ने उनको भनाइ छ।

महतले भावनात्मक जवाफ होइन, ठोस निर्णय, ठेकेदारमाथि कारबाही, र फोहोर व्यवस्थापनको स्पष्ट योजना सार्वजनिक गर्न माग गरेका छन्। यदि त्यो सम्भव छैन भने असफलताको औपचारिक घोषणा गर्नुपर्ने उनको चुनौती छ।

डम्पिङ साइटको आगलागी अब सामान्य घटना नभई नागरिक स्वास्थ्य र वातावरणसँग जोडिएको गम्भीर संकट बनेको भन्दै, अब निर्णय चाहिने कि असफलताको स्वीकारोक्ति भन्ने प्रश्न आज प्रत्येक नागरिकले सोधिरहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.