हेटौंडा–११ डाङ डुङ्गे डाँडाको चौर र पानी ट्याङ्की निर्माणमा बजेट दुरुपयोगको आशंका, सामाजिक अभियन्ताद्वारा अनुगमन

हेटौंडा, पुस २१ गते । हेटौंडा उपमहानगरपालिका–११ स्थित डाङ डुङ्गे डाँडामा चौर, पानी ट्याङ्की लगायतका संरचना निर्माणका लागि विनियोजित सरकारी बजेट दुरुपयोग तथा अनियमितता भएको आशंकामा सामाजिक अभियन्ता विशालराज महतले स्थलगत अनुगमन गरेका छन्।

सेवा सहयोग र आवाज हामीका अध्यक्षसमेत रहेका अभियन्ता महतले स्थानीय युवाहरूबाट आएको जनगुनासोको आधारमा उक्त स्थानको अवलोकन गरेका हुन्। अनुगमनका क्रममा कागजी रूपमा विनियोजित बजेटअनुसारको भौतिक काम स्थलमा स्पष्ट रूपमा नदेखिएको उनले बताएका छन्।

अनुगमनपछि रेडियो भरोसासँग कुराकानी गर्दै अभियन्ता महतले भने, “बजेट त विनियोजन भएको देखिन्छ, तर त्यसअनुसारको काम मैदानमा देखिँदैन। कागजमा देखाइएको खर्च र आँखाले देखिने संरचनाबीच मेल खाएको पाइएन।”

यस विषयमा बुझ्न अभियन्ता महतको टोली हेटौंडा उपमहानगरपालिका–११ को वडा कार्यालय पुगेको थियो। त्यहाँ वडा अध्यक्ष, वडा सचिव र इन्जिनियरसँग छलफल गरिए पनि विनियोजित बजेट र सम्पन्न भएको कार्यबीच स्पष्ट तालमेल नदेखिएको उनको भनाइ छ।

वडा अध्यक्ष जुना दाहालसँग गरिएको प्रत्यक्ष कुराकानीमा चौर शीर्षकमा उपभोक्ता समिति गठन भएर काम भएको विषयमा आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया आएको अभियन्ता महतले जानकारी दिए। स्थानीय स्रोतका अनुसार चौर निर्माणका लागि करिब १९ लाख रुपैयाँ बजेट विनियोजन भएको भए पनि सो अनुसारको फिनिसिङ र संरचना निर्माण भएको देखिँदैन।

स्थानीय युवाहरूले भने चौरलाई प्रयोगयोग्य बनाउन आफ्नै पहलमा करिब २५ हजार रुपैयाँ खर्च गरी सामान्य फिनिसिङ गरिएको बताएका छन्। उनीहरूका अनुसार चौर शीर्षकमा आएको बजेट त्यहीँ खर्च गरिएको भन्ने प्रमाण नदेखिएकाले व्यापक गुनासो उठेको हो।

अनुगमनका क्रममा सम्बन्धित वडाका प्रतिनिधिहरूले आवश्यक कागजात र विवरण सूचना मागमार्फत उपलब्ध गराइने भन्दै मौखिक जानकारी गराएका छन्। यसैबीच, स्थानीय युवाहरूबाट चौर र पानी ट्याङ्की बाहेक अन्य विकास निर्माण योजनाहरूमा पनि अनियमितता भएको आशंका सम्बन्धी थप जानकारी प्राप्त भएपछि, अभियन्ता महतको टोलीले वडाभित्र सञ्चालित सबै विकास निर्माण योजनाको खर्च, सम्झौता र कार्यान्वयन विवरण एकमुष्ट रूपमा सूचना माग गर्ने तयारी गरेको जनाएको छ।

अभियन्ता महतले बजेट कार्यान्वयनमा देखिएको अस्पष्टता र पारदर्शिताको अभावले आर्थिक अपारदर्शिताको संकेत गर्ने बताए। “स्पष्ट डाटा र खर्च विवरण सार्वजनिक नभएसम्म यस्ता शंका हट्दैनन्,” उनले भने।

यस विषयमा प्राप्त हुने थप तथ्य, कागजात र विवरणका आधारमा आगामी दिनमा आवश्यक निष्कर्षसहित जानकारी सार्वजनिक गरिने अभियन्ता महतले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.