काठमाडौं, माघ २ गते । नेपालको क्रिकेट इतिहासमा नयाँ अध्याय थपिँदै छ। पहिलोपटक नेपालमै आयोजना हुन लागेको आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टेलिभिजन ले गर्ने भएको छ। आउँदो आइतबारदेखि सुरु हुने यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि मात्र होइन, समग्र नेपाली खेलकुदकै लागि ऐतिहासिक अवसर मानिएको छ।
विश्वका १० राष्ट्र सहभागी हुने यस छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा आयोजक नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छन्।
नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक ग्लोबल छनोट खेल्न लागेको यो क्षणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। घरेलु मैदान र घरेलु दर्शकबीच खेल्दा नेपाली टोलीमा थप आत्मविश्वास देखिने अपेक्षा गरिएको छ।
प्रतियोगिताका खेलहरू काठमाडौँका दुई मैदान—कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा सञ्चालन हुनेछन्। नेपाली टोलीका सबै खेलहरू कीर्तिपुर मैदानमै हुने तय गरिएको छ। उद्घाटन दिन आइतबार बिहान कीर्तिपुरमा नेपाल र थाइल्यान्ड आमनेसामने हुनेछन्। सोही दिन दिउँसो जिम्बावे र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुनेछ। मूलपानी मैदानमा भने अमेरिका–बंगलादेश र आयरल्यान्ड–पीएनजी का खेलहरू हुनेछन्।
प्रतियोगिताको ढाँचाअनुसार दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि ‘सुपर सिक्स’ का शीर्ष चार टोलीले सिधै इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप मा स्थान बनाउनेछन्। क्रिकेटप्रेमी नेपाली दर्शकका लागि यो प्रतियोगिता प्रत्यक्ष टेलिभिजनमार्फत हेर्ने अवसर मिल्नु आफैंमा उत्साहजनक खबर बनेको छ।













