काठमाडौँ, माघ ३ गते । नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रीय कार्यालयको आयोजना तथा फन्डरेज फर युथ लिडरसिपको सहकार्यमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको तीन दिने क्षमता अभिवृद्धि तथा संस्थागत विकास तालिम काठमाडौँमा सम्पन्न भएको छ।
तालिममा नेत्रहीन युवा सङ्घ नेपाल काठमाडौँ शाखाका बोर्ड सदस्य तथा साधारण सदस्य गरी १८ जना दृष्टि अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थागत सुदृढीकरण, प्रशासनिक दक्षता र नेतृत्व विकाससम्बन्धी विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिमका मुख्य सत्रहरूमा प्रशिक्षक निर्मल भण्डारीले संस्थाको आधारभूत अवधारणा, संस्था सञ्चालनका लागि आवश्यक स्रोतहरूको पहिचान, आर्थिक स्रोत जुटाउने उपाय तथा प्रपोजल लेखन र औपचारिक प्रतिवेदन तयार गर्ने प्राविधिक पक्षबारे सहजीकरण गरेका थिए। प्रपोजल निर्माण, पुस्तक लेखन तथा तालिम सञ्चालनमा दुई दशकभन्दा बढी अनुभव रहेका भण्डारीले सहभागीहरूलाई संस्थागत विकासका लागि आवश्यक रणनीतिक योजना र कार्यविधिबारे व्यवहारिक जानकारी दिएका थिए।
कार्यक्रमको अन्तिम दिन कागेश्वरी मनोहरा नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिनाकुमारी श्रेष्ठले स्थानीय सरकार र अपाङ्गता भएका व्यक्तिहरूबीचको सम्बन्धका व्यवहारिक पक्षबारे जानकारी गराइन्। सो अवसरमा उनले अपाङ्गता भएका व्यक्तिहरूको माग प्रभावकारी रूपमा सम्बोधन हुन नसक्नुका कारण, स्थानीय सरकारका सीमितता तथा दुवै पक्षबीच बढ्दै गएको दूरीका विषयमा विशेष छलफल गरिन्।
श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकारको मूल प्रवाहमा समेट्न सकिने उपायहरूबारे स्पष्ट पार्दै दुवै पक्षबीचको खाडल कम गर्न समन्वय र संवाद अपरिहार्य रहेको बताइन्।
तालिममार्फत सहभागीहरूलाई संस्थागत रूपमा सबल बन्दै स्थानीय तहसँग प्रभावकारी समन्वय, पहुँच र साझेदारी विकास गर्ने तरिकाबारे जानकारी प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।














