धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क सम्पाङ’ ले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। आज धरान उपमहानगरपालिकाकै कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत उनले मेयर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा पत्र उपमेयर अइन्द्रविक्रम बेघा लाई हस्तान्तरण गर्दै सम्पाङले आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट उम्मेदवारी दिने तयारीका कारण आफूले मेयर पदबाट अलग हुनुपरेको स्पष्ट पारे। पत्रकार सम्मेलनमार्फत उनले आफू स्वयं निर्वाचनमा सहभागी हुने भएपछि एउटै व्यक्तिले दुईवटा जिम्मेवारी सम्हाल्न नमिल्ने अवस्था आएको र त्यसैले समयमै राजीनामा दिनु परेको बताए।
राजीनामा बुझाउने क्रममा सम्पाङले आफ्नो कार्यकालमा जिम्मेवारीपूर्वक काम गर्ने क्रममा बोलिवचन वा व्यवहारबाट कसैलाई अनायासै चोट पुगेको भए त्यसलाई गलत अर्थ नलिन आग्रह गरे। अभिभावकत्वको भूमिकामा बसेर नगर प्रमुखको जिम्मेवारी निर्वाह गर्दा कहिलेकाहीँ कडा अभिव्यक्ति आउन सक्ने उल्लेख गर्दै उनले त्यसलाई व्यक्तिगत रुपमा नलिन विशेष आग्रह गरेका छन्।
धरानबासीले आफूप्रति देखाएको विश्वास, माया र साथप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै सम्पाङले स्थानीय तहमा सुरु गरिएका अभियान र सुधारका प्रयासहरू आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे। उनले संघीय संसदमार्फत श्रम, सुशासन र स्वाभिमानको राजनीतिलाई संस्थागत गर्ने लक्ष्यसहित आफू निर्वाचनमा होमिएको धारणा राखे।
मेयर सम्पाङको राजीनामासँगै धरान उपमहानगरपालिकाको नगर प्रमुख पद रिक्त भएको छ। अब नगर प्रमुखको नियुक्ति नभएसम्म उपमेयर अइन्द्रविक्रम बेघा ले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै काम गर्ने भएका छन्।














