हेटौंडा, माघ ५ गते । मुलुक निर्वाचनको संवेदनशील चरणतर्फ उन्मुख भइरहेका बेला सञ्चारमाध्यमहरूले जिम्मेवारी, संयम र सजगताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन आचार-संहिता र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार-संहिताको पूर्ण पालना बिना व्यावसायिक पत्रकारिता सम्भव नहुने स्पष्ट पारे। दर्ता भई नियमअनुसार सञ्चालनमा रहेका सञ्चार माध्यमको संरक्षक निकाय प्रेस काउन्सिल भए पनि, कहिले काहीँ मिडियाकै कारण पीडित बन्न पुगेका सर्वसाधारणको पक्षमा समेत उभिनुपर्ने अवस्था आउने गरेको उनले बताए। यसले पत्रकारिता पेशामा आचार-संहिता पालनाको महत्व झन् बढाएको उनको भनाइ थियो।
निर्वाचन जस्ता संवेदनशील समयमा भ्रामक सूचना, अफवाह र अनावश्यक प्रचार बाजी फैलिने जोखिम बढी हुने उल्लेख गर्दै बिडारीले यस्तो अवस्था आमसञ्चार माध्यमका लागि नैतिकता र पेशागत क्षमताको कडा परीक्षा हुने बताए। सीमित स्रोत–साधन हुँदा-हुँदै पनि प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई क्रमशः विस्तार गर्दै आएको जानकारी दिँदै उनले डिजिटल मिडियामा आचार-संहिता उल्लङ्घनका घटना तुलनात्मक रूपमा बढी देखिने गरेको धारणा राखे।
उनले सत्य, तथ्य र प्रमाणमा आधारित सूचना मात्र प्रसारण गर्न आग्रह गर्दै कुनै समस्या वा जटिलता देखिएमा प्रेस काउन्सिलले तोकेको फोकल पर्सनमार्फत तत्काल जानकारी गराउन सञ्चार कर्मीहरूलाई अनुरोध गरे। पत्रकार आचार-संहिताको प्रभावकारी कार्यान्वयनमा नेपाल पत्रकार महासंघ, यसको शाखा तथा आबद्ध पत्रकारहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले प्रेस काउन्सिल नेपाल सधैं मिडिया र पत्रकारहरूको अभिभावक संस्थाका रूपमा उभिएको जिकिर गरे।
“आचार-संहिताको पूर्ण पालना गर्नुस्, प्रेस काउन्सिल नेपाल तपाईंहरूको संरक्षणका लागि सधैं तयार छ,” बिडारीले भने।
छलफल कार्यक्रममा पत्रपत्रिका वर्गीकरण, लोक कल्याणकारी विज्ञापन लगायत पत्रकारिता क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुबेदिको सञ्चालन र शाखा अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट, प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठ, उपाध्यक्ष धुर्व अधिकारी, पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ, हेटौंडा सन्देशका सम्पादक माधव न्यौपाने, स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीलगायत विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकहरूको उल्लेख्य सहभागिता रहेको थियो।













