काठमाडौँ, फागुन १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले पश्चिमी मिडियाको प्रभाव, प्रोपग्याण्डा र अन्तर्राष्ट्रिय राजनीतिमा यसको प्रयोगलाई लिएर सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा उनले मिडियालाई न त पूर्ण शत्रु ठान्नुपर्ने, न त पूर्ण सत्यको एकमात्र स्रोत मान्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार BBC जस्ता अन्तर्राष्ट्रिय मिडियाले आफूलाई स्वतन्त्र र निष्पक्ष भने पनि त्यसको समाचार फ्रेमिङमा पश्चिमी उदारवादी मूल्य र कहिलेकाहीँ बेलायती विदेश नीतिको प्रभाव देखिन सक्ने आलोचना हुँदै आएको छ। तर यस्तो आरोप BBC मात्र नभई धेरै अन्तर्राष्ट्रिय मिडियामाथि लाग्ने गरेको उनको भनाइ छ।
मोक्तानले ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सिंगापुरका पूर्वप्रधानमन्त्री Lee Kuan Yew लाई पश्चिमी मिडियाले ‘authoritarian’ भनेर चित्रण गरेको भए पनि सिंगापुरभित्र उनको विकासमुखी नेतृत्वको उच्च मूल्याङ्कन हुने गरेको उल्लेख गरेका छन्। यस्तै, शीतयुद्धकालमा Nelson Mandela लाई केही पश्चिमी देशहरूले आतंकवादी सूचीमा राखेको तथ्य स्मरण गर्दै, समय र शक्ति–राजनीतिसँगै कथानक कसरी परिवर्तन हुन्छ भन्ने उदाहरण दिएका छन्।
युक्रेन–रुस युद्धपछि युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy लाई पश्चिमी मिडियाले ‘लोकतन्त्रका रक्षक’का रूपमा बलियो रूपमा प्रस्तुत गरेको सन्दर्भ उठाउँदै मोक्तानले यसलाई समर्थकले वैध नेतृत्वको मान्यता ठान्ने र आलोचकले ‘देवत्वकरण’को रूपमा बुझ्न सक्ने बताएका छन्।
भारतका प्रधानमन्त्री Narendra Modi सँग सम्बन्धित India: The Modi Question वृत्तचित्रको समय र प्रभावबारे चर्चा गर्दै उनले “यहाँ मूल प्रश्न इरादा होइन, प्रभाव हो” भनेका छन्। ठूलो अन्तर्राष्ट्रिय मिडिया ब्रान्डले सामग्री सार्वजनिक गर्दा त्यसले स्वाभाविक रूपमा ठूलो राजनीतिक तरंग ल्याउने उनको विश्लेषण छ।
मोक्तानका अनुसार आजको सूचना–युगमा मिडिया, सामाजिक सञ्जाल, मानवअधिकार भाष्य र थिंक–ट्याङ्क रिपोर्टहरू सबै ‘सफ्ट पावर’ का औजार हुन्। “औजारलाई प्रयोग गर्न सक्नुपर्छ, उनीहरूद्वारा प्रयोग हुनु हुँदैन,” भन्दै उनले कथानक (narrative) निर्माण गर्न सक्ने शक्ति नै विश्वमतमा प्रभाव जमाउने प्रमुख आधार बनेको बताए।
यद्यपि उनले सबै आलोचनात्मक रिपोर्टलाई प्रोपग्याण्डा र सबै सकारात्मक कवरेजलाई देवत्वकरण भनेर खारेज गर्नु गलत हुने चेतावनी पनि दिएका छन्। अन्ततः निर्णय स्थानीय जनमत र मतदाताकै हातमा रहने उनको निष्कर्ष छ।
उनले सन्तुलित दृष्टिकोणका लागि सूचना–साक्षरता बलियो बनाउने, आफ्नै विश्वसनीय संस्थान निर्माण गर्ने र तथ्यमा आधारित प्रतिवाद गर्ने क्षमताको विकास अपरिहार्य रहेको बताए।














