काठमाडौं,बैशाख ८ गते । प्रतिनिधिसभा बैठकमा सांसदहरूले अब मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। संसद् बैठकको अनुशासन र प्रभावकारिता बढाउने उद्देश्यले प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदामा यस्तो प्रावधान राखिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको नेतृत्वमा गत चैत २३ गते गठन गरिएको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा बैठक सञ्चालन सम्बन्धी नियमहरू थप स्पष्ट र कडा बनाउने प्रस्ताव अघि सारिएको छ। समितिले नियम २० अन्तर्गत बैठकमा सहभागी हुने सांसदहरूले अनिवार्य पालना गर्नुपर्ने ११ वटा बुँदा समेटेको छ।
प्रस्तावित नियमअनुसार बैठकका क्रममा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ, जसले सांसदहरूको ध्यान बैठकको विषयवस्तुमा केन्द्रित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय संसद् बैठकमा सांसदहरू मोबाइलमा व्यस्त देखिने र बैठकको मर्यादामा असर पर्ने गुनासो बढेपछि यस्तो प्रस्ताव ल्याइएको बताइएको छ।
यस मस्यौदालाई अब संसद्मा छलफलका लागि पेश गरिनेछ। छलफलपछि आवश्यक परिमार्जनसहित नियमावली पारित हुने प्रक्रिया अघि बढ्नेछ।














