भक्तपुर,बैशाख ८ गते । दृष्टिविहीन व्यक्तिहरूलाई पहुँचयुक्त रूपमा डिजिटल र मुद्रित पुस्तकहरू पढ्न सक्षम बनाउने उद्देश्यले भक्तपुरको बालकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा एक्सेस प्लानिटको आयोजनामा आजदेखि सो तालिम सुरु भएको हो।

चार दिनसम्म सञ्चालन हुने तालिममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको सहभागिता रहेको छ। दृष्टिविहीनहरूका लागि डिजिटल र मुद्रित पुस्तकहरूलाई कसरी पहुँचयुक्त बनाउने र प्रविधिको प्रयोग गरी कसरी अध्ययन गर्ने भन्ने विषयमा केन्द्रित तालिमको सहजकर्ताका रूपमा संजय अर्याल रहेका छन्।

सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक ब्रेल लिपिमा उपलब्ध भए पनि अन्य सन्दर्भ सामग्री र पुस्तकहरूको अभाव हुने गरेको छ। यही समस्यालाई मध्यनजर गर्दै एक्सेस प्लानिटले दृष्टिविहीनहरूको स्व-अध्ययन र शैक्षिक प्रयोजनलाई सहयोग पुर्याउन डिजिटल पुस्तकहरू उपलब्ध गराउँदै आएको छ।

यो अभियानमा चितवन नेत्रहीन संघले पनि पहुँचयुक्त वातावरण निर्माण र पुस्तक वितरणमा सहकार्य गरिरहेको छ। प्रविधिको प्रयोगमार्फत पुस्तक पढ्न अरूको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न यो तालिम प्रभावकारी हुने विश्वास लिइएको छ।














