दिल्ली,बैशाख १५ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्ली क्यापिटल्समाथि एकतर्फी प्रदर्शन गर्दै ९ विकेटको सहज जित निकालेको छ। यस जितसँगै आरसीबी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले अत्यन्तै कमजोर सुरुवात गर्यो। प्रारम्भिक ओभरमै लगातार विकेट गुमाउँदै एक समय ८ रनमै ६ विकेट गुमाएको दिल्ली अन्ततः ७५ रनमै समेटियो। टोलीलाई केही सम्हाल्ने प्रयास अभिषेक पोरलले ३० रन र डेभिड मिलरले १९ रन बनाएर गरे पनि त्यो पर्याप्त हुन सकेन।
आरसीबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जोस ह्याजलवुडले घातक बलिङ गर्दै ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट झारे। त्यस्तै रसिक सलाम, युयश शर्मा र क्रुणाल पाण्ड्याले समान १–१ विकेट लिए।
७६ रनको सामान्य लक्ष्य पछ्याएको आरसीबीले मात्र ६.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। देवदत्त पाडिक्कलले ३४ रन बनाए भने विराट कोहली २३ रनमा अविजित रहे। ज्याकब बेथेलले पनि २० रनको योगदान दिए।
यसै खेलमार्फत विराट कोहलीले आईपीएल इतिहासमा ९ हजार रन पूरा गर्ने पहिलो खेलाडीको ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जोस ह्याजलवुड ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ३.३ ओभरमा ४ विकेट लिँदै दिल्लीको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।














