हेटौंडाका विद्यालयमा अब शनिबार र आइतबार बिदा, अन्य दिन नियमित पठनपाठन सञ्चालन हुने

हेटौडा,जेठ १ गते । हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ देखि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ। उपमहानगरपालिकाको शिक्षा शाखा मार्फत जारी पत्रअनुसार अब सबै विद्यालयमा शनिबार र आइतबार अनिवार्य बिदा रहने तथा अन्य दिन नियमित पठनपाठन सञ्चालन गरिने भएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको जनाइएको छ।

उपमहानगरपालिकाले विद्यालयहरूलाई वार्षिक तथा स्थानीय बिदाको अवधि ५० दिनबाट घटाएर ३० दिन कायम गर्न, सोहीअनुसार शैक्षिक क्यालेन्डर तथा वार्षिक कार्यतालिका निर्माण गर्न निर्देशन दिएको छ। साथै प्रथम र द्वितीय त्रैमासिक परीक्षा नियमित पठनपाठनकै दिनमा सञ्चालन गर्नुपर्ने र वार्षिक परीक्षाका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

पत्रमा शुक्रबारका दिन समुदाय तथा पारिवारिक क्रियाकलाप, सूचना प्रविधिमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन गरी विद्यार्थीलाई प्रस्तुतीकरणको अवसर दिनुपर्ने व्यवस्था पनि गरिएको छ। विद्यालय समयबाहेक सञ्चालन हुने जीवनोपयोगी सीप, व्यवहारिक दक्षता तथा शिक्षक–विद्यार्थी प्रत्यक्ष सहकार्यमा आधारित सिकाइ गतिविधिलाई समेत सम्बन्धित विषयको वार्षिक कार्यघण्टामा गणना गरी मूल्याङ्कन गर्न सकिने जनाइएको छ।

उपमहानगरपालिकाले थप जानकारी तथा सहजीकरणका लागि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका वेबसाइट तथा सम्बन्धित निर्देशिकाहरू अध्ययन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.